२० वर्षे उद्यमी निखिल : गाउँमै कृषि पढेर लोभ लाग्दो च्याउ खेती

आर्थिक प्रविधि बिजनेस मुख्य समाचार शिक्षा सहकारी खबर

टोपलाल अर्याल
गुल्मी
कैयौं युवा स्वदेशमा उद्यमको केहि उपाय नदेखेर दैनिक परदेश भासिइरहेका छन्। ऊर्जाशील उमेरमा थुप्रै किशोरकिशोरी छिटो सम्पन्न हुने रहरमा बाटो विराइरहेका हुन्छन्। उद्यम गर्न बाआमाले खेताला नपाउँदा बेरोजगार छोराछोरी कुलतमा फसिरहेका हुन्छन्। तर, गुल्मी चन्द्रकोट– ३ का २० वर्षे निखित खत्री आफ्नै उद्यम गरेर मासिक दुई लाख कमाइरहेका छन्।



जन्मेहुर्केको गाउँमै स्वरोजगारीको सम्भावना देखाएर उनी पछिल्लो पुस्ताका लागि उदाहरणीय पात्र बनेका छन्। निखिलले डेढ वर्षदेखि चन्द्रकोट गाउँपालिका–५ ग्वाघाको धुवाँखर्कमा च्याउ खेती गर्दै आएका छन्। संभवतः यो जिल्लाकै सबैभन्दा ठुलो च्याउ फार्म हो। उनी बिहान ५ बजेदेखि साँझ अबेरसम्म कामदारहरुसँग फर्ममै भेटिन्छन्।

निखिलले व्यक्तिगत २५ लाखको लगानीमा २० वटा टनेलबाट च्याउ उत्पादन सुरु गरेका छन्। फर्ममा १२ हजार डल्लामा एकैपटक च्याउ फलाउन सकिन्छ। अहिले औषतमा दैनिक तीन क्विन्टल च्याउ उत्पादन हुने गरेको उनले बताए। सिजनमा दैनिक सात÷आठ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ। वार्षिक एक लाख भाडामा १० रोपनी जग्गा लिजमा लिएका उनको फर्म दर्ता गरेर ५० वटा टनेलमा च्याउ खेती विस्तार गर्ने योजना छ।

निखिलले च्याउको बिउ पनि आफैं उत्पादन गरिरहेका छन्। यो वर्ष १५ क्विन्टल च्याउको बिउ बिक्रि गरेर पाँच लाख बढि कमाई गरेको उनको भनाइ छ। अहिले ६ जनाले उनको फर्मबाट प्रत्यक्ष रोजगारी पाइरहेका छन्। सिजनमा १५ जनासम्मले काम पाउँछन्। अहिले खाने र बस्ने सुविधासहित मासिक १५ हजार तलबमा युवाहरुलाई रोजगारी दिन पाउँदा खुसी लागेको खत्रीले सुनाए। आगामी चैतदेखि ३० वटा टनेल थपेर दोब्बरलाई रोजगारी प्रदान गर्ने उनको लक्ष्य छ।

गाउँमै कृषि पढेर गाउँमै सपना
विना ज्ञान र सीपका उद्यम डुवेका कैयौं उदाहरण छन्। अनुदान र देखासिकीका लागि गरिएको कृषि कर्म फस्टाएको पाइँदैन। त्यसैले निखिल खत्रीले पढाईलाई आफ्नै गाउँको माटोमा प्रयोग गर्दैछन्। उनले चन्द्रकोट– ४ को उदय माविमा कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन गरे। आइएससी–एजी गरेपछि उनले तालिमहरु पनि लिए।

व्यवसायीक पारिवारिक पृष्ठभूमिका निखिलका दुई भाइमध्ये दाइ कमलले शान्तिपुर बजारमा फोटो, भिडियोसहित इलेक्ट्रोनिक व्यावसाय गर्दै आएका छन्। बुबा धनबहादुर र आमा रोशनी पुराना होटल व्यवसायी हुन्। बुबा–आमाकै व्यावसायीक मानसिकताका कारण छोराहरु सानैबाट उद्यममा लागेका हुन्।

अहिले आफैं च्याउको ल्यावसमेत संचालन गरेका निखिलले च्याउका विभिन्न परिकारका साथै तरकारीका बिरुवाहरु उत्पादन गरेर बिक्री गरिरहेका छन्। उनले अहिलेसम्म सरकारका कुनै पनि तह र निकायबाट अनुदान लिएका छैनन्। ‘गाउँमा पाएको प्राविधिक शिक्षाको उपयोग गाउँमै गरिरहेको छु। कृषि क्षेत्रमा चुनौति थुप्रै छन्,’ उनले भने, ‘परदेशभन्दा घरदेशमा केहि गरेर देखाउने सपना बुनेको छु।’ उनले मुख्य बजार टाढा र सडकको पहुँच सजिलो नभएकाले समस्या भइरहेको बताए। आफूले अहिलेसम्म बैंकको कर्जामार्फत् नै लगानी गरिरहेको उनले सरकारबाट बजारीकरणमा सहयोग होस् भन्ने अपेक्षा मात्रै लिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *