प्रचण्ड गोरखा जाँदा रेनुको ‘मुड अफ’

चुनाव २०७९ मुख्य समाचार राजनीति

२८ असोज, काठमाडौं । शुक्रबार गोरखा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आउँदा छोरी रेनु दाहालको मुड अफ भएको बताएका छन् ।

शुक्रबार गोरखा बजारमा पार्टीका अगुवा कार्यकर्तालाई संबोधन गर्दै उनले भने, ‘अध्यक्ष त्यहाँबाट गोरखा जाने चर्चा चलेदेखि वास्तवमा भन्ने हो भने उनको मुड अफ भयो ।’ प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर पनि हुन् ।

उनले बाबु प्रचण्ड गोरखाबाट चुनाव लड्ने निर्णय भएपछि सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘दुःखद, चितवनबासीका लागि दुर्भाग्य, स्तब्ध, भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ ।’

संबोधनको क्रममा भावुक बनेका प्रचण्डले भने, ‘केही केही पोष्ट पनि बाहिर आयो, तपाईंहरूले पनि पढ्नुभयो होला । त्यो हदसम्म त जानु हुने थिएन, तर पनि भावना न हो, मान्छेको भावना उम्लेर आयो ।’

उनले आफू गोरखा आएको कुरालाई प्रतिक्रियावादी शक्ति केन्द्रहरूले जित र हारसँग जोडेर अफवाह फैलाएको आरोप लगाए । उनले ४० वर्षपछि पुनः गोरखा फर्कनुलाई चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङको चिनकाङसाङ यात्रासँग तुलना गरे ।

उनले भने, ‘मैले भावुक हुँदै भनेको छु, म चिनकाङसाङ फर्केको हुँ, फेरि एउटा नयाँ क्रान्ति, नयाँ अभियान, रुपान्तरणको निम्ति गोरखाका आएको छु ।’

माओ चिनियाँ कम्युनिष्ट पार्टीमा विचलन आएपछि छापामार युद्ध थालनी गरिएको स्थान चिनकाङसाङ फर्किएका थिए । प्रचण्डले जनयुद्धमा पहिलो सैन्य अभ्यास सुरुवात गरेको गोरखाको सिरानचोकलाई चिनकाङसाङसँग तुलना गरेका हुन् ।

उनले आफ्नो गोरखा आगमनले समाजवादी क्रान्तिको थालनी हुने बताए । ‘झण्डै ४० वर्षपछि म गोरखा फर्केको छु । म यहाँ अध्यापन गर्दा २२ वर्षको थिएँ’ उनले भने, ‘हामीले यहीँबाटै भूमिगत रूपमा पार्टी हेडक्वार्टर चलाउँदा, प्रारम्भिक सैन्य तालिम लिएको आजभन्दा झण्डै ४०÷४१ वर्ष अघि अगाडिको कुरा हो ।’

प्रचण्डले बितेको चार दशकमा धेरै राजनीतिक परिवर्तन भए पनि उक्त आन्दोलनको नेतृत्वकर्ता पार्टी पहिलेको जस्तो नभएको स्वीकारे । ‘हामीलाई चाहिए जस्तो पार्टी अहिले हामीसँग छैन । हामी सबै धेरथोर संसदवादको फोहरसँगको संर्सगमा केही मैलाधैला भएका छौं’, उनले भने ।

उत्पीडितहरूको मुक्तिका निम्ति नेतृत्व गर्ने पार्टी अहिले संसदवादी जस्तै हुने खतरा बढिरहेको उनले बताए । ‘यसकारण मैले गोरखा आएर नयाँ रुपान्तरणको बाटो हिड्ने कोशिस गरेको हुँ,’ उनले भने ।

उनले नयाँ क्रान्तिका लागि गोरखाबाटै नयाँ पार्टी निर्माणको अभियान थाल्ने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *