२८ असोज, काठमाडौं । क्यारमबोर्डलाई खासै राम्रो खेल मानेर प्रोत्साहन गर्ने चलन छैन । विद्यार्थी, किशोर किशोरीहरु क्यारमबोर्ड खेलेकामा प्रोत्साहन होइन, गाली नै पाउने गर्छन् । न कुनै शारीरिक स्फुर्ति, न जित्दा कुनै ठूलो उपलब्धि, क्यारमबोर्डमा केही छैन । तैपनि नेपालका गाउँशहरमा क्यारमबोर्ड प्रचलित खेलकै रुपमा छ ।
आसन्न चुनावका लागि भोट माग्ने क्रममा नेताहरुले क्यारमबोर्डलाई राम्रैसँग प्रयोग गरेको देखियो । एमाले सचिव योगेश भट्टराईलाई नै हेरौं न । ताप्लेजुङका विकट गाउँहरुमा उनी कहीँ गाडीमा, कहीँ ठमठम हिँडेर भोट मागिरहेका छन् । केही घन्टाअघि उनले ताप्लेजुङको आङखोप गाउँमा क्यारमबोर्ड खेलिरहेको तस्वीर पोस्ट गरे । उनका विभिन्न तस्वीरहरुमध्ये यो आम चर्चामा बढ्ता परेको देखिन्छ ।
त्यसमा आएका कमेन्टहरु रोचक छन् । एकजनाले व्यंग्य गरेका छन्, ‘गाउँगाउँमा बेरोजगारी बढाउँदै ।’ यस्ता थुप्रै कमेन्ट छन्, जसबाट उम्मेदवारहरुले ठम्याउन सक्छन्, आजको समयको ठूलो राजनीतिक एजेन्डा भनेको रोजगारी सिर्जनासँग सम्बन्धित छ ।
यस्तै क्यारमबोर्ड खेलिरहेका अनेकौं तस्वीर फेसबुक ट्वीटरमा भेटिन थालेका छन् । अरुले खेलेको होइन, उम्मेदवारहरुले खेलेको । जस्तो कि खोटाङमा विशाल भट्टराई, बझाङमा भानुभक्त जोशी, मकवानपुरमा कमल थापा क्यारमबोर्डमा सहभागी देखिन्छन् । खेल जिते नजिते पनि यिनै तस्वीरमार्फत गाउँ पुगेर क्यारमबोर्ड वरिपरि देखिने, अनि कम्तीमा ‘मन जित्ने’ प्रयास ।
क्यारमबोर्ड खेल्ने नेता यतिमात्रै छैनन् ।
अघिल्लो पल्ट चुनावमा एमाले अध्यक्ष केपी ओलीले क्यारमबोर्ड भिडिरहेको तस्वीर र सार्वजनिक भएको थियो । उसो त ओली जुनसुकै खेलमा सहभागी हुन उत्सुक हुन्छन् । शुक्रबार नै नवौं राष्ट्रिय खेलकुद उद्घाटनमा उनले शुभकामना दिइसके । यतिञ्जेलसम्म प्रधानमन्त्रीकै शुभकामना आउन बाँकी छ ।
तर क्यारमबोर्डको कथा अर्कै छ । ओलीको बालकोट निवासमा पनि क्यारमबोर्ड छ । कहिलेकाहीँ पुग्दा उनी कहिले कार्यकर्ता, कहिले सुरक्षाकर्मीसँग बोर्डमा भिडिरहेका भेटिन्छन् । खासमा ओली राम्रै क्यारमबोर्ड खेल्छन् । कहिले स्नुकरमा भेटिन्छन् । प्रधानमन्त्री भएका बेला फुटबल खेलिरहेको मूर्ति बालुवाटारमै राखेका थिए ।
खेलहरुसँग नेताले आफूलाई जोडेको राम्रै हो । दिमाग फ्रेस गराउने, अनि सिर्जनात्मक क्षमता र स्वास्थ्यका लागि पनि राम्रो । तर क्यारमबोर्डको किस्सा सम्झिँदा भूपी शेरचनको एउटा कविताले भने नराम्रोसँग बिझाउँछ । भूपी लेख्छन् :
हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने
हामी रंगरोगन छुटेका
टुटेफुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं ।
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा स्ट्राइकरबाट सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।
यी चुनावहरुले हामीलाई जागरुक र सार्वभौम मतदाता बनाउलान् ? कि यिनै टुटेफुटेका क्यारमबोर्डका रंगरोगन हराएका गोटीमै सीमित राखिदेलान् । त्यस्ता गोटी, जसलाई कुनै अर्को बेतुकको स्ट्राइकरले चलाउँछ ।
बाँकी त सबै ‘भोटकै खेल’ त हो ।